जनकपुर, फागुन ९
२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बिहीबार संसदमा विश्वासको मत लिँदैछन् । बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले संबोधन गर्दै विश्वासको मतको लागि प्रस्ताव गर्ने प्रदेश संसद सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ब्यक्तिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ ।
संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री राउतले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन् । उनले राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसँगै गई कांग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत माग्दै अनुरोध पत्र दिएका छन् ।
मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनेछन् । बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदान आहृवान गर्नेछन् ।
मतदानमा आफ्नो पक्षमा ५१ मत वा बढी आएमा लालवावु राउत मुख्यमन्त्री कायम रहनेछन् । पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिने प्रदेश संसद सचिवालयका उपसचिव यादवले बताए ।
प्रदेशसभा २ मा प्रत्यक्ष र समानुपातिक गरी १०७ सांसद रहेका छन् । जसमा मुख्यमन्त्री रहेको दल संघीय समाजवादी फोरमको २९ र राष्ट्रिय जनता पार्टीको २५ सदस्य छन् । दुवै दलको कुल सिट संख्या ५४ रहेको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ५४ मत यी दुई पार्टीसँगै छ ।
त्यस्तै एमालेको २१, कांग्रेसको १९, माओवादी केन्ऽको ११, संघीय समाजवादी पार्टीको १ र १ जना स्वतन्त्र सांसद छन् ।