काठमाडौं, फागुन ११
नेपाली कांग्रेस भित्र संसदीय दलको नेता खोजि कार्य सुरु भएको छ । कांग्रेस संंसदीय दलको बैठक १२ गते बस्ने भएपछि संसदीय दलको नेताको खोजी सुरु भएको हो ।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाले चासो देखाएका छन् ।
सभापतिको हैसियतले देउवाको दावी स्वभाविक पनि देखिन्छ । तर नेता सिंह र कोइरालाले देउवाको विकल्प खोजिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति समेत दिदै आएका छन् । अर्थात सिंह र कोइराला दलको नेताको दौडमा उत्रिसकेको देखिन्छ । यद्यपि महामन्त्री कोइरालाले चुनावमार्फत नजाने बताउदै आएका छन् ।
राष्ट्रियसभाका १३ र प्रतिनिधिसभाका ६३ गरी कांग्रेसको कुल ७६ सिट रहेको छ । त्यसमध्ये पौडेल पक्षको ३१÷३२, कृष्ण सिटौला पक्षका ४ र अन्य ४०, ४१ सिट देउवा पक्षको रहेको कांग्रेस स्रोतले जनाएको छ ।
१२ गते शनिबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संयुक्त बैठकले दलको विधान संशोधन गर्नेछ । भोलिपल्ट बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै संसदीय दलको नेता छान्न निर्वाचन कमिटी गठन गर्ने सम्भावना छ ।
गणितको हिसावले देउवा दलको नेता बन्ने आंकलन गरिएको छ । देउवा गुटको एक समूहले शशांक कोइरालालाई उठाउनु पर्ने आवाज पनि उठाएका छन् । तर अर्काे समूहले भने कुनै पनि हालतमा देउवा नै उठ्नुपर्नेमा जोड दिइरहेको बताइएको छ ।
दलको नेता बन्ने दौडमा रहेका देउवाले अबको ५ वर्षपछि कांग्रेसलाई सत्तामा पुर्याउने एजेण्डा अघि सारेका छन भने सिंहले ५ वर्ष सत्ताको आकांक्षा छाडेर संगठन निर्माण गर्ने एजेण्डा अघि बढाएका छन् ।
६० देखि ६५ उमेर कटेका धेरै नेताहरु देउवाको समर्थनमा देखिएका छन् । पाँच वर्षपछि उमेरले नेटो काट्ने भएकोले तत्काललाई फाइदा लिने उदेश्यले देउवाको एजेण्डातर्फ पाका नेताहरु आकार्षित भएको स्रोतको दावी छ ।