२१ कात्तिक, काठमाडौं ।
सन्दीप लामिछानेको विष्फोटक ब्याटिङका बाबजुद मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको पहिलो इनिङमा नेपाली राष्ट्रिय क्रिकेट टोली ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको छ । यो सँगै नेपाल एमसीसीसँग पहिलो इनिङमा २ सय ११ रनले पछि परेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ३९ रनको योगदान दिए । सन्दीपले ४ छक्का र २ चौका सहित ३९ रनमा एलबी डब्लू आउट भए । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।
खराव सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा आउट भए । भण्डारीले ५ चौका सहित ३६ रन जोडे ।
सोमपाल कामी ४ चौका सहित २६ रनमा आउट भए । यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएन फर्काए । यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा आउट गरे ।
नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर राजु रिजाल पनि ८ रनमा आउट हुन पुगे । दीपेन्द्र सिंह ऐरी १६ औं ओभरमा १ रनमा आउट भएपछि नेपाल २१ –४ को कमजोर अवस्थामा पुगेको थियो ।
आरिफ शेख २० औं ओभरमा १० रनमा क्याच आउट भए । आरिफले ५२ बलमा १ चौका प्रहार गरे । पवन सरार्फ र करण केसी समान २ रनमा क्याच आउट भए । पहिलो इनिङमा ३ सय ६४ रन बनाएको एमसीसी दोस्रो इनिङ्समा ब्याटिङको लागि उत्रेको छ ।