२१ कात्तिक, काठमाडौं ।
मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा तय भएको नेपाल र कुवेतबीचको खेल गर्न नमिल्ने निर्णय गरेको छ । विश्व कप छनोट खेल अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंसिर ३ गतेका लागि दशरथ रंगशालामा तय थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाधार तथा अखिल फुटबल संघ (एन्फा)ले मैदानको जिम्मा लिएर काम अघि बढाएपनि एएफसी त्यसबाट सन्तुष्ट नसकेको हो ।
एन्फाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै दशरथ रंगशालामा खेल नहुने प्रष्ट पारेको छ । खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रंगशाला प्रस्ताव गरिएको एन्फाले विज्ञप्तीमा उल्लेख छ ।
अधिकतम प्रयत्नका वावजुद नेपाल र कुवेतबीचको दशरथ रंगशालामा खेल गराउन नसकेकोमा एन्फाले फुटबल समर्थकसँग माफी मागेको छ । विश्व कप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा चाइनिज ताइपेमाथि २–० को जित हासिल गरेको नेपाल त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । गत महिना नेपाली टोली अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि फुटबल खेल हुन सकेको छैन ।