दशकपछि माथिल्लो त्रिशूली थ्री ए

१ मंसिर ७६, सोमबार

२ मंसिर, काठमाडौँ । 

लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काठमाडौँमा रहेको एक्सन रुमबाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट उद्घाटन गरेका हुन् ।

आयोजनाको पहिलो र दोस्रो ३०/३० मेगावाट क्षमताका दुई वटा युनिटले विद्युत् उत्पादन गरेका छन् । ती युनिट क्रमशः गत ३ जेठ र १७ साउनदेखि परीक्षण उत्पादन शुरु भएको थियो । उद्घाटन भएसँगै आयोजनाबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु भएको छ । आयोजना उद्घाटनको तहसम्म आइपुग्न एक दशकभन्दा बढी समय गुज्रेको छ । कहिले क्षमता बढाएर ६० बाट ९० मेगावाट बनाउने, त कहिले विद्युत् गृह भूमिगत बनाउने वा खुला राख्नेजस्ता विवादको शृङ्खलासमेत पार ग¥यो ।

Advertisement

यस्तै ‘गोरखा भूकम्प’ का कारण आयोजना थप दुई वर्ष पर धकेलियो । निर्माण व्यवसायीको कमजोर कार्यशैलीका कारण पनि आयोजनाले भोग्नसम्म हैरानी भोग्नु प¥यो । सरकारी लगानीका अधिकांश आयोजना रुग्ण बनीरहेको बेला सोही विशेषण पाएको माथिल्लो त्रिशुली थ्री ए ले व्यावसायिक उत्पादन शुरु गरेसँगै विगतका तिता दिनहरु इतिहास भएका छन् ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत रु १४ अर्ब ४३ करोड (निर्माण अवधिको व्याज बाहेक) थियो । निर्माण अवधिको रु दुई अर्ब ८९ करोड व्याजसहित रु १७ अर्ब ३२ करोडमा आयोजना निर्माण सम्पन्न भएको छ । चिनियाँ आयात निर्यात बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इञ्जिनियरिङ, खरिद र निर्माण (इपीसी) ढाँचामा निर्माण भएको हो ।

Advertisement

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछि आएको बाढीपहिरोले झनै प्रभावित पारेको हो । भूकम्प र पहिरोले आयोजनाको बाँधको दायाँबायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पु¥याएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनाले पाएको थियो । यसका लागि रु ६१ करोड १९ लाख खर्च भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ¬–५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । आयोजनाले स्विचयार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौँको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ ।

मातातीर्थमा १.३५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ । नेपालको इतिहासमा नै प्रसारण लाइन भूमिगत बनाइएको समेत यो पहिलो पटक हो । आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मस्र्याङदी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) सँग दुई करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । इञ्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।

शुरु सम्झौताअनुसार २०७१ साल जेठ १७ गते आयोजना सम्पन्न हुनुपर्ने थियो । विद्युत् गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णयलगायतका कारणले निर्माण प्रभावित भएको थियो । त्यसपछि आयोजनाको म्याद दुई वर्षमा सक्ने लक्ष्य राखिएको थियो ।

विनाशकारी भूकम्प र पहिरोले काबुबाहिरको परिस्थिति उत्पन्न भएपछि म्याद फेरी तीन वर्ष थपेर र ३० अप्रिल २०१९ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण पछिल्लो पल्ट थपिएकै समयमा सम्पन्न भएको हो ।

आयोजना राष्ट्रिय विद्युत् प्रणाली र त्यसमा पनि मुख्य रुपमा ‘लोडसेन्टर’ अर्थात काठमाडौँ उपत्यकाको विद्युत् माग र आपूर्तिको व्यवस्थापनका लागि भरपर्दो आधार तयार भएको प्राधिकरणको बुझाइ छ । आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ ।

आयोजना वर्षको नौ महिना पूर्णक्षमतामा चल्नेछ । त्यस्तै हिउँदमा समेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट मुलकको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित र विश्वसनीय बनाउन थप बल पुग्नेछ । यो आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान रहने छ । यसबाट कुलेखानी जलाशयको पानी बचत गर्न र आयातीत विद्युत्को परिमाण घटाउन सहयोग पुग्नेछ ।

आयोजनाका मुख्य संरचना र प्रसारण लाइनले प्रभावित रसुवा, नुवाकोट, धादिङ र काठमाडौँ जिल्लामा ‘आयोजना सहयोग कार्यक्रम’ अन्तर्गत आठवटा विद्यालय भवनको निर्माण, ११ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नति खानेपानी आपूर्ति प्रणालीको कार्यान्वयन, त्रिशूली हस्पिटल जाने सडको स्तनोन्नति, हस्पिटललाई उपकरण, खेल मैदान निर्माण, सिँचाइ सुविधा उपलब्ध गराउनेजस्ता सामाजिक विकासको कामका लागि झण्डै रु ४० करोड खर्च गरेको छ ।

सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको छ । महत्वका हिसाबले अग्रपङ्क्तिमा रहेका आयोजनाको सानो सफलताले पनि ठूलो अर्थ राख्छ । सरकारले काम गरेन, गफ मात्रै लगाएर बस्यो भन्नेका लागि पनि पछिल्ला दिनका सुखद खबर राम्रै जवाफ पनि आयोजना भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गदर्शन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियमित खटाइले रुग्ण आयोजना सम्पन्न भई नियमित विद्युत् उत्पादन गरी उद्घाटन हुने चरणमा आइपुगेको आयोजनाका प्रमुख फणिन्द्रराज जोशीको भनाइ छ ।

लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ । रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामकारवाही परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा सफलता मिलेको हो ।

–रमेश लम्साल /रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top