अन्ततः पछि हट्यो एसएसबी, पर्यटकलाई सन्दकपुर जान अवरोध नगर्ने

२ मंसिर, इलाम ।
भारतीय सीमा क्षेत्र तथा इलामकै अग्लो पर्यटकीयस्थल सन्दकपुरको भ्यु–पोइन्टमा जान र तस्बिर खिच्न रोक्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अब अवरोध नगर्ने जनाएको छ । सशस्त्र प्रहरी बलका अधिकारीसँग भएको छलफलमा एसएसबीले पर्यटकलाई सन्दकपुर डाँडामा जान अवरोध नगर्ने बताएको हो।

Advertisement

इलामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर १ का डिएसपी प्रेम प्रसाईंको नेतृत्वमा रहेको टोलीसँग एसएसबीका अधिकारीले छलफल गरेका थिए। डिएसपी प्रसाईंले भने ‘एसएसबीको माथिल्लो तहका अधिकारीले सन्दकपुरको चुचुरोमा पर्यटकलाई अवरोध नगर्ने र त्यहाँ पुग्न, तस्बिर खिच्न नपाउने भनी राखेको सूचना बोर्डसमेत नराख्ने वचन दियो ।’ उनले अब पर्यटकलाई सन्दकपुरमा जान, घुम्न, हिँडडुल गर्न अवरोध नहुने बताए ।

एसएसबीको सिक्किमस्थित ३६ नम्बर बटालियनका सेकेन्ड इन कमान्ड निरूपेश कुमार नेतृत्वको टोलीले सशस्त्र प्रहरीको टोलीसँग छलफल गरेको थियो। डिएसपी प्रसाईँका अनुसार एसएसबीले सीमा समस्याको कूटनीतिक समाधानका लागि तत्काललाई दशगजामा भइरहेको अवरोध नगर्ने जनाएको हो ।

Advertisement

भ्यु–पोइन्टमा जान र तस्बिर खिच्न रोक्दै आएको एसएसबी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)बीच शनिबार ढुङ्गा हानाहान भएका थियो भने त्यहाँ पुगेका विद्यार्थीले एसएसबीले राखेको निषेधको बोर्ड फ्याँकिदिएर सन्दकपुर चुचुरोमा राष्ट्रिय झन्डा फहराएका थिए। त्यसअघि प्रदेश नम्बर १ की प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू पुगेका बेला एसएसबीले आफैं हटाएको बोर्ड लिम्बू फर्किएपछि पुनः राखेको थियो।

अनेरास्ववियू केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले विद्यार्थीले सीमा समस्याको समाधानमा दीर्घकालीन समाधान चाहेको बताए। एसएसबीले सन्दकपुर गाउँपालिकाले ३ हजार ६ सय ३६ मिटर उचाईको सन्दकपुर डाँडामा बनाउन लागेको भ्यु–पोइन्ट निर्माणको काम रोकेको थियो। त्यसपछि उसले यो चुचुरोमा जान र तस्बिर खिच्न पर्यटकलाई अवरोध गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top