काठमाडौं, फागुन २२
प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी शनिबार हुने भएको छ । मंगलबार संसद भवन नयाँवानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकले आगामी शनिबारका लागि सभामुख निर्वाचनको मिति तोकेको हो ।
बैठकमा सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा कार्यसञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि अनुसार सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना मंगलबारै प्रकाशित गर्न महासचिवलाई निर्देशन दिए ।
बैठकले १३ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा कृष्णभक्त पोख्रेल, जुली कुमारी महतो, दिलेन्द्र प्रसाद बडु ,देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मिनबहादुर विश्वकर्मा, मिनेन्द्रप्रसाद रिजाल,लक्ष्मणलाल कर्ण लगायत छन् ।
समितिलाई कार्य प्रारम्भ भएको मितिले १ महिनाको समय दिईएको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन २६ गते शनिबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।