काठमाडौं, फागुन २४
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी ५ बर्षमा नेपालले असाधारण विकासको फड्को मार्ने बताएका हुन् ।
्५ बर्षको समय आधा दशकको समय भएपनि त्यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुने उनको भनाई थियो । नेपालको बढदो व्यापार घाटालाई सरकारले तत्काल सल्ट्याउन नसके पनि अनपेक्षित सुधार ल्याउने प्रतिवद्धता जनाए ।
शान्ति, स्थायित्व र सम्वृद्धिका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रीत गर्ने बताए । प्रधानमन्त्री ओलीले सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुने बताए ।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले चालु घाटा कम गर्नका लागि सरकारले निर्यात प्रर्वद्धनलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिए । निजिक्षेत्र संगको सहकार्यमा निर्यात प्रर्वद्धन गर्नुपर्ने भएकाले त्यसका लागि अनुकुल वातावरण बनाउने प्रयासमा सरकार लागेको उनले स्पष्ट पारे ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले राम्रो काम गर्ने उद्योगी व्यवसायीहरुका लागि अनुकुल वातावरण बन्ने आश्वासन दिए ।