काठमाडौं, फागुन २४
२०७२ सालको विनाशकारी भुकम्पवाट नुवाकोट र गोरखामा क्षतिग्रस्त भएका घर पुननिर्माणका लागि भारत, युएनडिपी र युएनओपीएसले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारसहित सबै साझेदार पक्षद्धारा राजधानीमा आज आयोजित कार्यक्रममा घर पुननिर्माण सम्बन्धी साझेदारी पत्रमा हस्ताक्षर भएको हो । पुननिर्माणका लागि भारत सरकारको सहकार्यमा युएनडिपीले ८ दशमलव ७९ मिलियन अमेरिकी डलर र युएनओपीएसले ७ दशमलव ४१ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भुकम्पपछिको पुर्ननिर्माणका लागि सहयोग आएकोमा धन्यवाद दिदै बाचा गरे अनुसारको पुर्ननिर्माणको काम समयमै सम्पन्न हुने विश्वास आफुले लिएको बताए ।
मनसुन अगाडि नै पालमुनि रहेका भुकम्प प्रभावितलाई छानो मुनि ल्याउने कोशिसमा नेपाल सरकार लागेको पनि उनले बताए । सम्झौता अनुसार, गोरखामा २६ हजार ९ सय १२ घर युएनडिपीले र नुवाकोटमा २३ हजार ८८ घर युएनओपीएसले निर्माण गर्नेछन् । सम्झौता अनुसार ३ वर्षभित्रमा घर निर्माण गरी हस्तान्तरण गरिनुपर्ने छ ।