काठमाडौं, फागुन २७
नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामार्फत् जनताका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभामुख महराले देशको आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न प्रतिनिधिसभा सफल हुने विश्वास पनि व्यक्त गरे ।
सभामुख भएपछि पहिलो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखमा निर्वाचित गरेकोमा सबै राजनीतिक दलहरुलाई धन्यवाद पनि व्यक्त गरे ।
सभामुख महराले प्रतिनिधिसभालाई जनताको सर्वोच्च थलो बनाउन सक्दो प्रयास गर्ने पनि बताए । बैठकमा सभामुख महराले विभिन्न राजनीतिक आन्दोलनका क्रममा सहिद भएका, वेपत्ता भएका तथा घाईते , अपांग भएकाहरुको पनि स्मरण गरेका थिए ।
बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सभामुख महराले सभामुखको रुपमा निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गरेका थिए ।