प्रमोद सहनी
२३ माघ, रौतहट ।
रौतहटको एक वडा कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीहरुले रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा तोडफोड गरेका हुन् ।
स्थानीय श्री माध्यमिक विद्यालयका विद्यार्थीहरु वडा कार्यालयमा प्रवेश गरी कागजात, फर्निचर, कम्प्युटर, झ्यालढोका लगायतको सरसमान तोडफोड गरी नष्ट गरेका छन् । तोडफोड गरी सरसमानलाई यताउता फालिदिएका छन् ।
कार्यालयका धेरै सामग्री नष्ट एवं क्षतिग्रस्त भएको छ । तोडफोडमा संलग्न १८ जना विद्यालर्थीलाई प्रहरीले पक्राउ गरेको छ । १८ जना विद्यार्थीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले बताए । कार्यालयका महत्वपूर्ण कागजात, सामग्री नष्ट भएकाले उनीहरुमाथि कारबाही गरिने उनले बताए ।
यसअघि २ महिना अगाडी पनि पढाइ नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमै तोडफोड गरेका थिए । मनोबल बढेर फेरी वडा कार्यालयमै तोडफोड गरी व्यापक क्षति गरेकाले पक्राउ परेका विद्यार्थीहरुमाथि मुद्दा चलाई कानुन अनुसार कारबाही गरिने डीएसपी कार्कीको भनाइ छ ।