२५ माघ, बेइजिङ ।
चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यस अघि २४ घण्टादेखि मध्य रातको अवधिमा ७३ मानिसहरुको मृत्यु भएको थियो ।
अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको सिटिएनले उल्लेख गरेको छ । वुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । यस बाहेक उत्तर पूर्वीको तियानजिन तथा हेलोङजियाङ र दक्षिण पश्चिमको गुइझौमा अन्य तीनजनाको मृत्यु भएको छ।
चीनबाहेक अन्य देशमा हालसम्म दुईजनाको मृत्यु भएको छ । ती ध्ये एक फिलिपिन्स र अर्को हङकङका नागरिक हुन् । कोरोना भाइरस फैलिनसक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका चिनिया चिकित्सकको कोरानाकै कारण ज्यान गएको छ ।
वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षीय नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण मृत्यु भएको हो । उनले पहिलो पटक डिसेम्बर ३० मा भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने चेतावनी दिएका थिए।