एशियामै पहिलो मानव मलमूत्र फोहर प्रशोधन केन्द्र बन्ने

६ फागुन ७६, मंगलबार

६ फागुन, काठमाडौँ । 

Advertisement

महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो ।

केन्द्र निर्माणका लागि रु चार करोड १७ लाख रकम लाग्ने अनुमान गरिएको वातावरणविज्ञ राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यसमा रु साढे तीन करोड बोर्डको लगानी हुनेछ भने रु ५५ लाख नगरपालिकाले व्यहोर्नुपर्ने छ ।’ केन्द्र सञ्चालन गर्न थ्री फेजको बिजुली आवश्यक रहने हुँदा यसको व्यवस्था नगरपालिका स्वयंले नै गर्नुपर्ने श्रेष्ठले बताए ।

Advertisement

केन्द्रमा दैनिक तीन ट्रक दिशाजन्य लेदो व्यवस्थापन गर्र्न मिल्ने गरी निर्माण गर्न लागिएको वातावरण शाखा प्रमुख लवकुमार गुप्ताले जानकारी दिए । उनले भने, ‘नगरपालिकामा प्रत्येक वर्ष १० प्रतिशत जनसङ्ख्या बढ्दै गएको आधार मानी सन् २०२१ देखि सन् २०२५ सम्मलाई हुने गरी यस परियोजना अघि बढाउन लागेका हौं ।’

समय निरन्तर अघि बढ्दै जाँदा नेपालमा सस्तो र नयाँ प्रविधि भित्रियो भने यसलाई सञ्चालन गर्न गाह्रो हुने भविष्यको विचार गरी पाँच वर्षसम्म काम दिने खालको प्रशोधन र व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको गुप्ताले बताए ।

Advertisement

नगरवासीले सो केन्द्रमा दिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवस्थित सेफ्टीट्याँकी बनाउनुपर्ने वातावरण तथा सरसफाइविज्ञ सञ्जय अधिकारीले औँल्याए । उनले भने, ‘यसअघि आइएसओ मान्यता प्राप्त नपाएको झापामा निर्मित लगभग दैनिक सात ट्रक मलमूत्र भण्डारण गर्न मिल्ने केन्द्र निर्माण भइसकेको छ ।

कहिले दिनमा अलिकति पनि दिशाजन्य पदार्थ भण्डारण र प्रशोधन गर्न नआउँदा निकै घाटा व्यहोरिरहेको छ ।’ अब निर्माण हुन लागेको केन्द्र घाटामा जानुभन्दा पाँच वर्ष टिक्ने र गुणस्तरीय हुनु उचित रहने अधिकारीले सुझाव दिए ।

दिशाजन्य लेदोमा ९० प्रतिशत पानी र १० प्रतिशत पदार्थ हुने गरेको बताइएको छ । नगरपालिकाका–१ देखि नं ५ सम्म भएका घरबाट निस्कने दिशाजन्य पदार्थको पानी पठाउन ढलको व्यवस्था गरिएको छ । वडा नं ६ देखि १० सम्म पाँच वडामा ढलको व्यवस्थापन नरहँदा यो प्रशोधन केन्द्रले निकै सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले बताए ।

उनले भने, ‘वडा ६ देखि १० मा हाल लगभग ११ हजार घरधुरी छन् ।’ पहिलो नम्बरमा यी घरको दिशाजन्य फोहर व्यवस्थापन हुन्छ भनेपछि समयको मागसँगै अन्य पाँच वडाको दिशाजन्य पदार्थ व्यवस्थापन गर्न आवश्यक परेमा त्यसको विचार गरिने छ ।

सो प्रशोधन केन्द्र सामाजिक व्यापारिक नमूनामा बनाउँदा प्रभावकारी हुने नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो नगरपालिकाभित्र असल अभ्यासको शुरुआत भएको हुँदा यो बनाउने निश्चित भएको छ । यसका लागि नगरपालिकाले जमिनमुनि रहेको पानीको एकपटक अनुसन्धान गर्न निकै आवश्यक देखिन्छ ।’ गोदावरी खोलाको कोरिडोर बनिसकेपछि यो कामलाई अघि बढाइने श्रेष्ठले जानकारी दिए ।

प्रशोधन केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाको ‘स्वच्छ सफा, समृद्ध, सुन्दर–महालक्ष्मी नगर’ भन्ने मूल नारालाई सो परियोजनाले निकै सहयोग गर्ने उपप्रमुख निर्मला थापाले बताइन् । उनले भनिन् , ‘घरेलु फोहरको सुरक्षित व्यवस्थापन गरी जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने जोखिमको न्यूनीकरण गर्न यो परियोजनाले निकै उपयोगि हुने छ ।’ सो परियोजनाले दिशाजन्य लेदो, सोबाट निस्कने फोहर तथा सतही पानी र ठोस फोहरको व्यवस्थापन गर्ने थापाले जानकारी दिइन् ।

परियोजनाले नगरपालिकाभित्र उचित मापदण्डअनुरुप दिशाजन्य लेदोको सुरक्षित सङ्कलन, भण्डारण, ढुवानी, प्रशोधन र सुरक्षित विसर्जन गर्न सहयोग गर्नेछ । यस परियोजनाभित्र भाडामा रहेका र निजी आवास, व्यावसायिक र औद्योगिक प्रतिष्ठान, सरकारी र संस्थागत संरचना तथा सार्वजनिक शौचालय आदि पर्छन् ।

केन्द्रको निर्माणपछि नगरपालिकाले मानव मलमूत्र फोहर र फोहर पानीलाई खुला रुपमा ढल वा जमिनमा मिसाउन दिने छैन । यसका लागि उच्चस्तरीय सेफ्टी ट्याङ्कीको व्यवस्था हुनेछ । हरेक भान्छाबाट निस्कने जैविक वा अजैविक फोहरलाई आवश्यक प्रविधि जडान गरी निहित चिल्लो र ग्रिजयुक्त पदार्थ मार्फत न्यूनीकरण गरेर मात्रै ढल निकास गरिने छ । नयाँ बन्ने संरचनाले नगरपालिकाको नियमभन्दा बाहिर गएर भवन र संरचना बनाउन पाउने छैन ।

सो परियोजनाको पूर्णतापछि यसबाट बायोग्यास र तरकारी उत्पादन व्यवसायमा निकै सहयोग पुग्ने बताइएको छ । यसअघि नगरपालिका–८ लुभुमा निर्मित सानो ढाँचाको हप्तामा दुई ट्रक दिसाजन्य पदार्थ प्रशोधन हुने केन्द्रमार्फत त्यहाँ बायो ग्यास र तरकारी उत्पादन गर्न निकै सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

–सुभानु आचार्य/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top