विराटनगर, चैत ८
पूर्व च्याम्पियन वेष्ट इन्डिजले २०१९ मा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि स्थान सुरक्षित गरेको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा स्कटल्याण्डलाई हराउँदै वेष्ट इन्डीजले विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।
डकवर्थ एण्ड लुइसको नियमका आधारमा स्कटल्याण्डलाइ ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकप यात्रा तय गरेको हो ।
ख्ेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४८ ओभर ४ बलमा मात्र एक सय ९८ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजका लागि इभिन लुइसले ६६ तथा मार्लोन स्यामुयल्सले ५१ रन बनाए । खेलमा कार्लोस ब्रेथवेटले २४ रन जोडे ।
१ सय ९९ रनको लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको स्कटल्याण्ड ३५ ओभर २ बलमा एक सय २५ रनमा पाँच विकेटको अवस्थामा हुँदा भारी वर्षाका कारण खेल रोकिन पुग्यो । त्यसपछि डकवर्थको नियम अनुसार वेष्ट इन्डिज ५ रनले विजयी भएको हो ।
स्कटल्याण्डका लागि रिची बेरिङटोनले ३३ तथा जर्ज मुन्सेले ३२ रनको योगदान गरेका थिए । हारपछि स्कटल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको छ । सुपरसिक्समा रहेका अरु चार टिम मध्ये तीन टिमको अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने अवसर कायमै छ । जसमा जिम्बावे, अफगानिस्तान र आयरल्याण्ड रहेका छन ।