१७ फागुन, एजेन्सी ।
इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका छन्। यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्।
शुक्रवार अपरान्ह इरानले १४३ वटा नयाँ घटनाहरू देखा परेको भन्दै देशभर ३८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको बताएको थियो।
इरानी अधिकारीहरूले कोभिड–१९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन्।
शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका आपत्कालीन कार्यक्रमका निर्देशक डा. माइकल रायनले इरानमा देखिएको उच्च मृत्युदरले शुरूमा अनुमान गरिएको भन्दा कोरोनाभाइरसको प्रकोप ठूलो रहेको देखाएको बताएका छन्।
आइतवार वा सोमवारसम्म मद्दतका लागि डब्लुएचओको एउटा टोली इरान पुग्दैछ। डा. रायनले इरान प्रवेश र हवाई पहुँच जस्ता कारणले टोली पुग्न केही ढिलो भएको बताउँदै संयुक्त अरब एमिरेट्सले सहयोग गरिरहेको बताए।
केही स्वास्थ्य विज्ञहरूले नौ दिनअघि कोभिड–१९ देखिएपछि इरानी अधिकारीहरूले जनाइरहेको प्रतिक्रियालाई लिएर प्रश्न गरिरहेका छन्।
राष्ट्रपति हसन रूहानीले कुनै पनि शहर वा क्षेत्रलाई ुक्वारन्टीनुमा राख्ने कुरा अस्वीकार्य रहेको बताएका छन्।
तर डब्लुएचओका संयुक्त चीन मिसनका प्रमुखले त्यस्तो कदमले उक्त प्रकोपसँगको लडाइँमा ठूलो फरक पारेको बताएका थिए।
त्यसबाहेक दशौँ लाखले बर्सेनि भ्रमण गर्ने कुममा रहेको सीया मुसलमानहरूको धार्मिकस्थल हजरत मसुमेहलाई बन्द नगर्ने निर्णयलाई लिएर पनि चिन्ता व्यक्त भइरहेका छन्।
हालकै दिनमा उक्त धार्मिक स्थलको प्रवेश केही कडा गरिएको छ। त्यहाँ प्रवेश गर्नुअघि मानिसहरूलाई हातमा लगाउने स्यानीटाइजर, मुख ढाक्ने मास्क र अन्य स्वास्थ्य जानकारी उपलब्ध गराउन थालिएको छ र मानिसहरूलाई समूहमा जम्मा नहुन भनिएको छ।
उनीहरूलाई प्रार्थना गर्न र त्यहाँबाट निस्कन भनिएको छ। उक्त धार्मिक स्थलका संरक्षक आयोत्ललाह मोहमद सइदीले त्यसलाई ुउपचार घरका रूपमा हेर्नु पर्नेु र ुमानिसहरूलाई आउन प्रोत्साहन गर्नु पर्ने ु बताएका छन्।
इरानमा कोरोनाभाइरस सङ्क्रमित हुनेमा महिला तथा परिवार मामिला सम्बन्धी उपाध्यक्ष मासुमे एब्तेकार र स्वास्थ्य उपमन्त्री इराज हरिरची सहित उच्चपदस्थ अधिकारीहरू छन्।
एउटा अनलाइनका अनुसार इरानी सरकारको सबैभन्दा वरिष्ठ महिला सदस्य एब्तेकारले बिहीवार कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि हुनुभन्दा केहीअघि मात्रै राष्ट्रपति रूहानी र कैयौँ मन्त्री सहभागी बैठकमा भाग लिएकी थिइन्।
इरानबाट छिमेकी देशहरू अफगानिस्तान, बहरेन, इराक, कुवेत, ओमान र पाकिस्तानमा कोरोनाभाइरस पुगेको बताइन्छ।(बीबीसी)
