२ चैत, एजेन्सी । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ । स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो ।
स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।
स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ’लकडाउन’ सुरु गरेको छ । उसको यो निर्णय प्रमपत्नीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको केही समयपछि आएको हो ।
स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी सरकारले आफ्ना नागरिकहरूलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालिन कामको अवस्थामा बाहेक घरै बस्न भनेको छ ।
उसले खाना लगायतका वस्तुको विक्री गर्ने बाहेकका बार, रेष्टुरेन्ट तथा पसलहरू बन्द गर्न निर्देशन दिएको छ । यसका अलावा सिनेमा हल, स्विमिङ पुल, थिएटर तथा फुटबल रंगशाला जस्ता मनोरञ्जन स्थलहरू बन्द गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी सोमबारबाट लागु हुने गरी उसले आन्तरिक एयरलाइन्स, रेल तथा डुङ्गा संचालकहरूलाई आफ्नो सेवा आधाले कटौती गर्न भनेको छ ।
