संक्रमित यात्रुसंगै विदेशबाट आएका ३ सय २ जना अझै सम्पर्कबाहिर

१७ चैत, काठमाडौँ । मुलुकमा लकडाउन हुनुभन्दा केही दिनअघि मात्रै विदेशबाट आएका चारजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनीहरुसँगै एउटै विमानमा आएका अन्य नेपाली यात्रुको सम्पर्क कायम गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

Advertisement

तीन फरक–फरक विमानमा सवार कुल ४ सय ५८ यात्रुमध्ये १ सय ५६ यात्रु मात्रै सम्पर्कमा छन् । संक्रमितसँगै विमानमा आएका ३ सय २ यात्रु अहिलेपनि सम्पर्कबाहिर छन् । उनीहरु आफैं आइसोलेसनमा बसेका छन् कि छैनन् भन्नेबारे कसैलाई जानकारी छैन ।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार दोस्रो र पाँचौं संक्रमित युवतीहरू सवार कतार एअरवेजको विमान क्युआर ६५२ मा आएका १ सय ५८ मध्ये आइतबार अबेरसम्म १ सय ३४ जना मात्रै प्रहरीको सर्म्पकमा छन् ।

Advertisement

सम्पर्कमा आएकाहरु प्रहरी वा स्थानीय तहका अधिकारीको निगरानीमा आइसोलेसनमा बसेका छन्। अन्य यात्री अझै सम्पर्कमा आएका छैनन् । प्रवक्ता जोशीका अनुसार कतिपयको राहदानीको ठेगानाभन्दा अन्यत्रै बसाइँ सरेकाले पनि उनीहरुलाई भेट्टाउन समस्या भइरहेको छ ।

तेस्रो संक्रमित युवा संयुक्त अरब इमिरेटसबाट चैत ६ गते एअर अरेबियाको जी ९५३७ मा आएका थिए। उनी सवार उक्त विमानमा १ सय ७० यात्रु थिए। तीमध्ये अहिलेसम्म जम्मा २२ जना मात्र प्रहरीको सम्पर्कमा आएका छन्। अन्य कहाँं छन पत्तो लागेको छैन। चौथो संक्रमित यात्रु चैत ७ गते दुबईबाट भारतको दिल्ली हुँदै भिस्तारा एअरलाइन्सको युके १५५ विमानमा काठमाडौं आएका थिए। उनी सवार विमानमा १ सय ३० यात्रुको खोजीका निम्ति शनिबारै प्रहरी प्रधान कार्यालयले सबै जिल्लामा सर्कुलर गरेको थियो। तर उक्त विमानमा सवार यात्रुहरुको पहिचान भइसकेको सूचना प्रधान कार्यालयमा आइतबार साँझसम्म आइसकेको छैन।

Advertisement

संक्रमितहरुको संख्या थपिँदै जांँदा र खोज्नुपर्नेहरूको सूची लम्बिएकाले प्रहरीलाई यात्रुहरुको पहिचान गर्न कठिन पर्दै गएको छ। झन् चौथो र पाँचौं संक्रमित त काठमाडौंबाट क्रमशः नेपालगन्ज र पोखरा पनि आन्तरिक उडानमार्फत नै गएको देखिन्छ। प्रहरीले ती दुई संक्रमित सवार आन्तरिक विमानका यात्रुको पनि खोजी गर्नुपर्ने हुन्छ। नेपालगन्ज पुगेका संक्रमित त्यहाँबाट माइक्रो चढेर धनगढीस्थित घर पुगेकाले उक्त माइक्रो बसमा सवार यात्रु पनि खोज्नुपर्ने देखिन्छ।

त्यस्तै पोखरासम्म विमानमा गएकी संक्रमित युवती त्यहांँबाट जिप चढेर बाग्लुङस्थित घर पुगेकाले त्यसमा सवार यात्रु पनि खोज्नुपर्ने देखिन्छ । आन्तरिक उडानका यात्रु र सार्वजनिक सवारीका यात्रु जोड्दा प्रहरीले संक्रमितसँग नजिकको सम्पर्कमा रहेका अन्य थुप्रै यात्रुको खोजी गर्नुपर्ने देखिन्छ तर प्रहरीले पहिलो चरणमा अन्तर्रा्ष्ट्रिय उडानमा सवार यात्रुको खोजीलाई प्राथमिकता राखेको छ।

प्रवक्ता जोशीले संक्रमित यात्रु सवार विमानमा चढेर अन्य यात्रु आएकाहरूले आफैं नजिकको प्रहरीमा सम्पर्क राखेर आफ्नो अवस्था बताउनु उचित हुने बताए। उनले पैसा नलाग्ने नम्बर एक सयमा फोन गरेर पनि आफ्नो स्वास्थ्य अवस्था र ठेगाना बताउन सकिने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top