१९ चैत, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड( १९)को पाँचौं संक्रमितसँगै कतार एयरलाइन्सबाट चैत ५ गते स्वदेश आएकामध्ये २२ जना प्रदेश २ प्रहरी कार्यालयको सम्पर्कमा आएका छन् ।
उनीहरू सेल्फ क्वारेन्टाइनमा रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । उक्त विमानका अन्य ११ जना भने अझै सम्पर्कबाहिर, ठेगाना स्पष्ट नभएपछि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीको भनाई छ ।
भारतबाट आएकालाई पनि घर र सार्वजनिक क्वारेन्टाइनमा राखिएको कार्कीले बताए । सम्पर्कमा नआएकाको खोजीमा सर्वसाधारण, स्थानीय तह र प्रहरीका स्थानीय संयन्त्रहरूलाई सक्रिय पारिएको कार्कीले बताए । सम्पर्कमा आएका सबैको स्वास्थ्यस्थिति सामान्य रहेपछि उनीहरू होम क्वारेन्टाइनमै बसिरहेका छन्।
आइतबार राहदानी विभागले चैत ५ गतेपछि विदेशबाट आएका व्यक्तिको विवरण प्रहरीलाई बुझाएको थियो। त्यही विवरण प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेश प्रहरीलाई पठाएको थियो।