२२ चैत्र, काठमाडौं ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति सृजना हुदै गएको छ ।
किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु भने उपभोक्ताको घर घरमा तरकारी पुर्याउने काममा जुटेका छन् । कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि युवाहरु किसानको बारीबाट सिधै उपभोक्ताको घरमा तरकारी पुर्याउने काममा जुटेका हुन् ।
उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने , संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काम भ्याईनभ्याई छ । आफूहरुले टोल टोल पुगेर विक्रि गर्ने तरकारी बजार मुल्य भन्दा ३० प्रतिशत सम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ ।

तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मुल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरि सिधै उपभोक्ताकोमा पुर्याउने गरेको बताउँछन् । खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्याउने गरेका छन् ।
अहिले चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसंग समन्वय गरेर तरकारी टोलटोलमा पुर्याउने गरिएको पनि उनले बताए । लकडाउनमा तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने विषय परिस्थिति उत्पन्न भएपछि किसानको बारीबाट सिधै उपभोक्ता समक्ष पुर्याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुल बहादुर नेमाफुकी ले बताए ।
तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकहरुसंगको समन्वयमा टोलटोलमा पुग्छ । अनि १ ÷१ मिटरको दुरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ । बिहान सांझ उपभोक्ताको घर घरमा पुर्याउने तरकारी वितरणमा पनि यो समुहले थप सर्तकता अपनाएको छ । तरकारीमा विषाधी छर्दा लगाउने रेनकोट जस्तो पोशाक, पञ्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ ।

अगुवा कृषक प्रेमनारायण अधिकारीले टोल टोलमा तरकारी पुराउने कामले किसानले पाउने मुल्य र उपभोक्ताले तिर्नुपर्ने मुल्यबीचको अन्तरलाई कम गर्नुको साथै दुवै पक्षलाई फाईदा पुगेको बताए ।
तरकारी टोल टोलमा पुर्याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष सनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हातहातमा तरकारी पुर्याउने काममा जुटेको बताए ।
आफ्नै टोलटोलमा ताजा तरकारी पाएपछि उपभोक्ता पनि खुसी देखिएका छन् । भक्तपुरका केही स्थानबाट सुरु गरिएको यो सेवालाई सबै तर्फ र सधै पुर्याउने व्यवस्था मिलाउन सक्ने हो भने तरकारीमा रहेको बिचौलियाको बिगबिगी सधैका लागि अन्त्य हुनुको साथै किसान र उपभोक्ता दुवै लाभान्वित हुनेछन् ।