२४ चैत्र, काठमाडौैं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नीजि क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताएका छन् ।
अफ्ठ्यारो समयमा सरकारी र नीजि क्षेत्र नभनि एकतावद्ध भएर अगाडी बढ्न नीजि क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकालले बताए।
नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना विरुद्धको लडाईमा सबै मिलेर सफलता प्राप्त गर्न र जनताको मनोबल उच्च राख्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, ‘सरकारलाई के नीजि क्षेत्र के सरकारी क्षेत्र अफ्ठ्यारो परेको बेला हामी साथमा छौ भन्ने ऐक्यवद्धताले सरकारको मनोबल उच्च बनाएको छ । जनतालाई पनि सबै क्षेत्रबाट जुटेका सहयोगी मन र हातहरुले एक्लो छैनौँ कोरोना विरुद्धको लडाईमा सबै मिलेर एक्यवद्ध भएर परास्त गर्नुको विकल्प छैन ।
यसमा सफलता प्राप्त गर्न जनताको मनोबल पनि उच्च बनाउन सहयोग गरेको छ ।’ मन्त्री ढकालले प्राप्त साम्रगी तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराउने उल्लेख गर्दै यसले स्वास्थ्य क्षेत्रमा कमा गरिरहेका व्यक्तिहरुको मनोबल माथि उठाउन सहयोग पु¥याउने बताए ।
फाउण्डेशनले सरकारलाई ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेको हो । थ्री एम एन ९५ मास्क २ हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान र मेडिकल कम्प्लिट सेट १ हजार थान उपलब्ध गराएको हो ।
सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेशनले यसअघि नै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । अस्पतालले चैत मसान्तसम्म सबै विरामीलाई उपचारमा २० प्रतिशत छुट दिने जनाएको छ ।
