९ वैशाख, विराटनगर । उदयपुरको भुल्केबाट सोमबार परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।
त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएको थियो । तीमध्ये ८ जनाको नमुना परीक्षण गर्दा संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ । यकिन गर्नका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिने भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोशीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोर्होयाएर परीक्षण गर्न लागिएको हो ।
उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । संक्रमण देखिएका भनिएका व्यक्तिहरु सबै पुरुष हु्न्। उनीहरु जेष्ठ नागरिक भएको जनाइएको छ।
उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको बताए।