११ वैशाख, एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड–१९ लामो समयसम्म रहने बताएका छन्।
महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्। उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुनः सल्किने बताए।
विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे। उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड–१९ बारे विश्वलाई समयमै सचेत गराएको बताए।
पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा गर्यौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो, जिनिभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड–१९ लाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो। मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो।
के भने डा. टेड्रोसले?
पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो। केही गल्ती नगरौँ, हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।
भाइरसलाई निकै खतरनाक बताउँदै उनले भने, प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ। त्यसको अर्थ यो महामारी सजिलै बिउँतिन सक्छ। अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ।
महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। (बीबीसी)
