जनकपुरधाम, चैत १६
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सडक र रेल सञ्जाल निर्माणको गृहकार्य गरिरहेको बताएका छन् । प्रेस चौतारी धनुषा शाखाद्वारा जनकपुर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रथम चरणमा रेलमार्ग, हुलाकी सडक र तराई दु्रतमार्ग निर्माणको कार्यलाई अघि बढाउनका लागि गृहकार्यमा लागेको बताउँदै आगामी पाँच वर्ष्भित्र मधेसका ग्रामीण सडकमा कालोपत्रे सम्पन्न गर्ने योजना कार्यान्वयनको तयारी भइरहेको जानकारी दिए ।
जनकपुरधामको विकासका लागि विशेष योजना कार्यान्वयनको गृहकार्य भइरहेको जानकारी गराउँदै उनले सरकार जनकपुरधाममा भएका कार्यालयहरूलाई अन्यत्र सार्न उद्यत रहेको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे ।
उनले सरकार मधेसको हित हुने गरी संविधान संशोधनको पक्षमा रहेको स्पष्ट गर्दै मधेसवादी दल आफ्नै आन्तरिक कारणले सरकारमा सहभागी हुन नसकेको जानकारी दिए ।
रासस