१४ वैशाख, वीरगञ्ज ।
आरडीटी परीक्षणमा तीन पटक एन्टीबडी पोजिटिभ देखिएकी युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् ।
आरडीटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो । उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।
तराई रिसर्च अस्पताल र नारायणी अस्पतालमा उनको आरडीटी परीक्षण गरिएको थियो। नारायणी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो।
आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना डिस्चार्ज भएका छन् ।