१५ बैशाख, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण युरोपमा सबैभन्दा लामो समयसम्म लकडाउन भएको देश इटालीले चरणवद्ध रुपमा अब हटाउँदै लैजाने घोषणा गरेको छ ।
आइतबार इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले मे ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा गरेका हुन् ।
उत्पादन, निर्माण कम्पनी र केही थोक विक्रेताहरूलाई मे ४ बाट पुनः काम सुरु गर्न पाउनेछन् । त्यसको दुई हप्तापछि खुद्रा विक्रेतालाई खोल्न दिइनेछ ।
यद्यपी रेस्टुरेन्ट र बारहरू जुनको सुरुबाट मात्र पूर्णरुपमा संचालनमा आउनेछन्।
दुई महिनाभन्दा अगाडि मिलान बाहिरको एउटा सानो शहरमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि इटाली लकडाउनमा जानुपरेको थियो ।
संकटको दोश्रो चरण अपेक्षा गरिरहेको इटालीले संक्रमणको दोश्रो लहर सुरु नगरी अर्थव्यवस्थालाई पुनः सुरु गर्ने प्रयास गर्नेछ ।
