१५ वैशाख, जनकपुरधाम ।
प्रदेश नं २ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ ।
सङ्घीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलनका लागि परिचालित छन् । शनिबारसम्ममा प्रदेशमा एक हजार २९० जना स्वाब सङ्कलन गरिएको छ भने आइतबार ३७१ जनाको समेत गरी अहिलेसम्ममा एक हजार ६२१ जनाको स्वाब सङ्कलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।
सोमध्ये ८ सय २३ जनाको रिपोर्ट आउन बाँकी छ । ८ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात जनामा कोरोना पुष्टि भएको छ । सो सात जनामध्ये चार जना निको भइसकेको र अन्य तीन जनाको विरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेशमा अहिलेसम्म चार हजार ५ सय २३ जनाको आरडिटी परीक्षण गरिएको छ । सो अन्तर्गत सप्तरीमा ७२९ जना, सिरहामा ३३९ जना, धनुषामा ४३९ जना, महोत्तरीमा १६५ जना, सर्लाहीमा १२८ जना, रौंतहटमा ४४५ जना, बारामा १४६ र पर्सामा दुई हजार १२३ जनाको परीक्षण गरिएको सचिव डा. घिमिरेले बताए ।
प्रदेशमा हाल विभिन्न जिल्लाको क्वारेन्टाइनमा एक हजार ४८९ जना, होम क्वारेन्टाइनमा एक हजार ६२१ जना र आइसोलेशनमा २९ जना छन् । (रासस)