१६ बैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीको अन्त्यबाट विश्व अझै निकै टाढा रहेको बताएका छन् ।
डब्लुएचओका प्रमुखले कोरोना भाइरसका कारण सामान्य स्वास्थ्य सेवा पाउन मानिसहरुले समस्या भोगिरहेको बताए । यसमा विशेषगरी गरीब देशका बालबालिकाहरूले समयमै खोप लगाउन नपाएको उनको भनाइ छ ।
डब्लुएचओले केही धनी राष्ट्रमा संक्रमण स्थिर वा कम हुँदै गएको भएपनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण र सोका कारण हुने मृत्यु बढेकोमा चासो व्यक्त गरेको छ ।
चिनियाँ शहर वुहानमा गत वर्ष डिसेम्बरबाट देखा परेको कोरोना भाइरसबाट विश्वभरमा ३० लाख मानिस संक्रमित भएका छन् । रोयटर्सको तथ्यांक अनुसार सोमबारसम्म संक्रमणका कारण २ लाख ५ हजार ९४८ जनाले ज्यान गुमाएका छन् ।
महानिर्देशक टेड्रोसले सम्मेलनमा कोरोना भाइरस महामारीको प्रभाव बालबालिकाको खोप कार्यक्रममा परेको समस्या प्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले संसारभर पोलियो, दादुरा, हैजा, पहेंलो ज्वरो र मेनिन्जाइटिस जस्ता रोगहरू विरुद्ध नियमित खोपमा विलम्बले करिब १३ मिलियन जनसंख्या प्रभावित भएको बताए ।
टेड्रोसले जीएवीआई विश्वव्यापी खोप गठबन्धनलाई उद्धृत गर्दै कोरोना भाइरस लकडाउन र सीमा प्रतिबन्धका कारण विभिन्न २१ देशहरुमा खोपहरुको अभाव देखापरेको बताए ।
