२० वैशाख, काठमाडौं ।
विश्वभर फैलिएको कोरोना भाईरस(कोभिड–१९) नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिला मध्ये एक नेपाली पनि परेकी छिन् । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा पनि परेकी हुन् ।
उनले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित नहुँदा अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ ।
मध्ये फेब्रुवरीमा चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको उनको टोली निरन्तर खटिईरहेको छ । आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन एक सय ७५ जनाकै रिपोर्ट तयार पारिएको थियो । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।
महामारी बढेसँगै उनीहरूको कामको चाप बढेको छ । तर, उनी आफ्नो तर्फबाट कर्मचारीलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् ।
उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन् । उनीहरु जोर्डनमा कार्यरत छन् ।
दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन् । यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन् । उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन् ।
उत्कृष्टको सूचीमा पर्ने अर्की महिला कजाकस्तानकी दिना स्माइलोबा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् भने अर्की रियान्सिया हेनरी क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बर्मुडामा कार्यरत रहेको युएनओमनले जनाएको छ ।