३० बैशाख, एजेन्सी । भारतमा कोरोना संक्रमण बढेसँगै रोकिएको रेल सेवा आज(मंगलबार)बाट सुरु भएको छ ।
रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो ।
मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि हिजोदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।
यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो ।
रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ ।
रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्याउन ४६८ वटा रेल सञ्चालन गरिएको छ ।
कोरोना संक्रमणको त्रासका बीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ ।
भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सञ्चालन गर्ने तयारी रहेको छ । यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सञ्चालनको तयारी भइरहेको भारतीय सञ्चार मध्यमहरुले जनाएका छन् ।
दिल्ली मेट्रोले पनि सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली मेट्रो २२ मार्चदेखि बन्द गरिएको छ ।
यसैबीच रेलवे सेवा सञ्चालन हुनुअघि अनलाइनमार्फत ३० हजार भन्दा बढी टिकट बिक्री भइसकेका छन् ।
करिब ५४ हजार यात्रुले रेलवे यात्राका लागि टिकट खरिद गरिसकेको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । अनलाइन आवेदन खुलाएको केही घण्टामै १० करोड भन्दा बढीको कारोबार भएको बताइएको छ ।