१९ जेठ, बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए ।
पेशागत बीमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी/आइपीएस)को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ । दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।
पत्रकार सहारा उपचार कोषमा हालसम्म १०१ जना सदस्य छन् भने एक जनाको मृत्यु भएको छ । केही सदस्यको स्थानीय सरकार, सञ्चार गृह र संस्थाले बीमा गराएका छन् । जनही ३ हजार शुल्क बुझाएपछि पत्रकार महासंघ झापाका सदस्यले पत्रकार सहारा उपचार कोषको सदस्य बन्ने प्रावधान छ ।
एक करोड रुपैयाको कोष बनाउने लक्ष्यका साथ स्थापना गरिएको पत्रकार सहारा उपचार कोषमा हाल ४५ लाख रुपैँया जम्मा भएको कोषका संयोजक तथा महासंघका उपाध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट पत्रकारलाई उपचारमा सहयोग गरिदै आएको छ ।
