४ असार, काठमाडौं ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गरी यस वर्षको राष्ट्रिय अरनिको सम्मान, ललितकला राष्ट्रिय लेखन पुरस्कार र ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको हो । जसमा यस वर्ष (२०७७) को राष्ट्रिय अरनिको सम्मान स्वरूप शंकरनाथ रिमाल र शन्तकुमार शाक्यलाई एक–एक लाख राशिसहित सम्मान गरिनेछ
ललितकला राष्ट्रिय लेखनतर्फ प्रा.डा. लय मैनाली र ललितकला राष्ट्रिय पत्रकारितातर्फ केशवराज खनालले २५–२५ हजार रुपैयाँसहित सम्मान पाउनेछन् । त्यस्तै कोभिड–१९ का कारण वैशाख २ देखि सञ्चालन हुने भनिएको ललितकला कला प्रदर्शनी अब अनलाइनमार्फत गरिने विषयमा छलफल भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनी रोकिए पनि सहभागी कलाकृतिको मूल्यांकन भइसकेको हुँदा राष्ट्रिय ललितकला पुरस्कार र विशेष पुरस्कार र प्रादेशिक पुरस्कारबाट पुरस्कृत कलाकारको नाम पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
जसमा हस्तकाल, मूर्तिकला–परम्परागत र आधुनिक, परम्परागत चित्रकला, लोककला र वास्तुकला तथा अन्य सिर्जनात्मक कला गरी २३ कलाकार पुरस्कृत भएका छन् ।
राष्ट्रिय ललितकला पुरस्कार स्वरूप प्रत्येक कलाकारले ६० हजार र विशेष पुरस्कार स्वरूप प्रत्येक कलाकारले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रादेशिक पुरस्कारतर्फ भने मोरङ, सप्तरी, काठमाडौं, कास्की, रुकुम, मुगु र कैलालीका कलाकारहरूले क्रमशः २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।