योगेन्द्र योगी
१८ असार, दोहा ।
कोरोना लगायत विभिन्न समस्यामा परेका नेपाली नागरिकहरुको लागि ओमानबाट थप उडानको तय भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले दिएको जानकारी अनुसार मस्कटबाट १० जुलाइमा सलाम एयरले काठमाडौँका लागि उडान भर्ने छ भने सो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्किने छन् । यसअघि पनि सलाम एयरको २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका छन् ।
यो उडानका लागि पनि सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा तोकेको दूतावासले जनाएको छ । तेस्रो उडानको सूचीमा दूतावासले प्राथामिकताको आधारमा १८० जनाकाे नाम सार्वजानिक गरेको छ ।
सो उडानमा फर्कने नेपालीले २० केजी बराबरको लगेज र ७ केजीसम्मको ह्याण्ड ब्याग ल्याउन पाउने दूतावासले जनाएको छ । कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि यात्रुले हवाई टिकटका लागि सलाम एयरको कलसेन्टर २४२७२२२२ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आइसकेपछि सिधै होम क्वारेन्टिनमा बस्न पाउने दूतावासले जनाएको छ । थप कुनै सहयोग चाहिएमा दूतावासमा ७१५९२४९० मा फोन गर्न सकिने छ ।