३० असार, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २(१ ले पराजित गरेको छ । रियलको लिगमा यो लगातार नवौं जित हो ।
ग्रानडाको मैदानमा रियलले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र गोल गरे ।
यस जितसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ । रियलले अब अर्को खेलमा अलाभेसलाई पराजित गरे उपाधि पक्का गर्नेछ ।