३१ असार, झापा ।
झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर मंगलबार सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ । खेतमा पानी मिलाउने क्रममा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
सोमबार बेलुका ५ः४५ बजेको समयमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो । मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि सोमबारै दाहसंस्कार गरिएको छ । एघार महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो । स्थानीयवासी जानुका ओलीका अनुसार उनको पनि आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो ।