२ साउन, लमजुङ । लमजुङको कोलासोंथर-९ गिलुङ क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।
कोलासोंथर-६ पसगाउँका २३ वर्षीय युवराज घर्तीले झुण्डिएर आत्महत्या गरेका हुन् । लकडाउनअघि नै बुटवलस्थित दिदीको घर गएका घर्ती असार ३१ गतेमात्र गाउँ फर्किएका थिए ।
गिलुङस्थित बुद्धोदय माविमा बनाइएको क्वारेन्टिनमा घर्तीलाई असार ३१ गतेदेखि नै राखेको कोलासोंथर(९ का वडाध्यक्ष नन्दजंग गुरुङले बताए । क्वारेन्टिनमा घर्ती एक्लै बसेका थिए । उक्त क्वारेन्टिनमा यसअघि सिङ्दी र कुमलुङका २ जना युवा बसेर घर गएका थिए ।
क्वारेन्टिनमा एक्लै बस्दा आत्तिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ‘घर्तीले आफ्नो गाउँमा फोन गरेर गोठमा गएर बस्छु बरु क्वारेन्टिनमा बस्दिनँ भनेका रहेछन्’, वडाध्यक्ष गुरुङले भने, ‘हामीलाई केही भनेन, थाहा नै पाइएन।’
बुद्धोदय माविमा बनाइएको क्वारेन्टिनमा बस्न, खानको व्यवस्था वडाले मिलाएको समेत गुरुङले बताए । घटनापश्चात घर्तीको परिवार पसगाउँबाट घटनास्थल आउँदै गरेको र शवको पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम बेंसीशहर लैजाने तयारी भएको वडाध्यक्ष गुरुङले बताए। पश्चिम लमजुङमा पर्ने पसगाउँ लमजुङको दुर्गममा पर्छ ।