५ साउन, काठमाडौं ।
भारी वर्षासँगै आएको बाढीले चितवन र धादिङ जोड्ने मौवा खोलाको पुल भत्काएको छ । अविरल वर्षा र बाढीका कारण मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएका हो ।
बाढीले खोला छेउका केही घर पनि बगाएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले बताए । उनका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ ।
त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।
धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए ।
