योगेन्द्र योगी
१० साउन, दोहा ।
काठमाडौँको सामाखुसीमा रहेको एसआरके नेपाल मेनपावर मार्फत बिगत १८ महिना अघि कुवेत पुगेका ३३ जना नेपाली कामदार अलपत्र परेका छन् ।
कोरोनाको कारण कम्पनीले लिएको साइट बन्द भएपछि कुवेतको जिलिपमा बिगत पाँच महिनादेखि आफूहरु अलपत्र परेको पिडितहरु मध्ये रोल्पाका प्रकाश मगरले बताए ।
पीडितहरुका अनुसार कुवेतको अल रकीब बिल्डिंग कंस्ट्रक्शन कम्पनी कार्यरत नेपाली कामदार लामो समयदेखि भोकभोकै बस्न बाध्य भएका छन् ।
म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख ६० हजार रुपैयाँ लिएको थियो । तर, कुवेतमा पाँच महिनासम्म पनि काम, दाम र माम नपाएको उनीहरुको गुनासो छ ।
पीडित नेपालीहरुका अनुसार कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा दिएकाे छैन । कम्पनी प्रशासनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महतले बताए ।
सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउँदा तोकिएको तलब लगायत सेवा सुविधा समेत नपाएको बताएका छन् ।
म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अवस्था दयनीय बनेको पीडितहरुले बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दै आएको पानी र बिजुलीको लाइन समेत काटिएकोले समस्या थपिएको बताएका छन् । कम्पनीले तलब नदिएपछि दुई महिनादेखि आफूहरु एसी बिनाको कोठामा नै बस्न बाध्य भएको कामदारको गुनासो छ ।
उनीहरुले आफूहरुको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् ।
यता, पिडित नेपालीहरु जानकारी गराएपछि कुवेतस्थित नेपाली दूतावास उनीहरु बसकेको क्याम्पमा पुगी आवश्यक जानकारी लिएको जनाएको छ । दूतावासका अनुसार उनीहरुलाई चाँडै खाना तथा उद्दारको पहल गरिने जनाइएको छ ।