Nepal Times
Nepal Times
3
Shares

हात्ती हिँड्ने बाटोमा विमानस्थल

हात्ती हिँड्ने बाटोमा विमानस्थल

काठमाडौं – बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूला वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य करिडोर विनाश गर्न खोजिएको प्रति पर्सा राष्ट्रिय निकुञ्जले आपत्ति जनाएको छ ।

वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायतका ठूला वन्यजन्तुले करिडोरका रूपमा प्रयोग गरेको जंगल विनाश गरेर संरचना खडा गर्न खोजिएपछि निकुञ्जले आपत्ति जनाएको हो । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

पूर्वपश्चिम राजमार्गको पथलैया-निजगढतर्फको पसाहा खोलादेखि लालबकैया खोलासम्मको १० किलोमिटर क्षेत्रमा दक्षिणतिरका सबै रूख काटेर विमानस्थल बनाउन खोजिएकामा निकुञ्जको मुख्य आपत्ति छ ।

‘त्यसो गर्दा वर्षौंदेखिको वन्यजन्तुको बाटो अवरुद्ध हुन्छ,’ नेपालका हात्तीमा विद्यावारिधि गरिरहेका पर्सा निकुञ्जका सहायक वार्डेन अशोक रामले भने, ‘सर्लाही, सिन्धुली, उदयपुरबाट पर्सा, बारा हुँदै चितवन निकुञ्जसम्म जोड्ने जैविक मार्ग अवरुद्ध भएपछि हात्तीले आतंक मच्चाउन सक्छ ।’ पूर्वका हात्ती पश्चिमतिर ओहोरदोहोर गर्ने उक्त जंगल एक मात्र करिडोर हो ।

राजमार्गको दक्षिणतर्फ भएका रूख काटेर विमानस्थलको संरचना विस्तार गर्दा झापा र कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पर्सा र चितवन निकुञ्जसम्मको वन्यजन्तुको ‘कनेक्टिभिटी’ तोडिने सहायक वार्डेन रामको बुझाइ छ ।

‘सदियौंदेखि पूर्वी तराईका जिल्लाबाट हात्तीको समूह पसाहा खोला दक्षिणको जंगल हुँदै पर्सा निकुञ्ज क्षेत्रमा भित्रिने गरेका छन्,’ उनले थपे, ‘राजमार्गको दक्षिणमा दुई किलोमिटर रूख नकाट्ने हो भने जैविक मार्ग जोगिन्छ र विमानस्थल पनि सुरक्षित हुन्छ ।’

वन्यजन्तु हिँड्ने सबै जंगल (जैविक मार्ग) विनाश गरेर बनाइएको संरचनाले भविष्यमा विकराल स्थिति निम्त्याउन सक्छ भन्नेमा अहिले नै ध्यान दिनुपर्ने उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.