विराटनगर ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको भ्रमणमा आउने भएका छन् । उनले नेपाल भ्रमणका क्रममा जनकपुर पुगेर त्यहाँको प्रसिद्ध जानकी मन्दिरको पनि दर्शन गर्ने भएका छन् ।
नेपालसँगको बिग्रेको सम्बन्ध सुधारका लागी प्रत्यनस्वरुप मोदीको नेपाल भ्रमण हुने समाचार हिन्दुस्तान टाइम्सले छापेको छ ।
मोदीको नेपाल भ्रमणको तयारी भर्इरहेकाे पुष्टि गर्दै हिन्दुस्तान टाइम्सले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि हुने जनाएको छ ।
प्रधानमन्त्री ओली दिल्ली पुगेर फर्केको डेढ महिनाको नबित्दै मोदी नेपाल आउन लागेका हुन् । ओली यही अप्रिल ६ देखि ८ सम्म भारत भ्रमणबाट फर्किएका थिए ।
मोदी नेपाल आउने भएपछि नेपाली पक्षले उनलाई जनकपुर भ्रमण गराउने तयारी पनि थालेको छ । मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनी सन् २०१४ मा आउँदा अन्तिम समयमा जनकपुर जाने कार्यक्रम रोकिएको थियो ।सन् २०१५ मा नेपालले संविधान जारी गरेपछि भारतीय पक्षले असन्तुष्टि जनाउँदै नेपाल ६ महिना नाकाबन्दी गरेको थियो । त्यसयता भारतले नेपालको संविधानको स्वागत पनि गरेको छैन ।
तर नेपालमा वाम गठबन्धनले बहुमतसहितको सरकार बनाएपछि मोदीले आफ्नो दूतकारुपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर सम्बन्ध सुधारको कोशिश गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री बनेर केपी ओली दोस्रो पटक दिल्ली पुगेका थिए । ओली दिल्ली पुगेका बेला मोदीले नेपालसँग आफू सहकार्य गर्न तयार रहेको बताउँदै नेपालको नयाँ सरकारलाई स्वागत गरेका थिए ।