१४ साउन, रौतहट । बुधबार रौतहटको यमुनामाई गाउँपालिकामा ग्यास सिलिन्डर वितरणका क्रममा झडप हुँदा एक दर्जन बढी घाइते भएका छन् । घाइते अधिकांशको टाउकोमा चोट लागेको छ ।
ग्यास बाँड्दा पक्षपात गरिएको भन्दै दुई पक्षबीच भनाभनले झडपको रुप लिएको हो । त्यस क्रममा घाइते हुनेहरुमा बालक पनि छन् ।
यमुनामाई ५ को झुनखुनवा टोलमा गरिब विपन्न र निम्न आय भएकाहरुलाई गाउँपालिकाले ग्यास सिलिन्डर वितरण गर्ने क्रममा विभेद गरेको भन्दै दुई पक्षबीचमा झडप भएको प्रहरीले जनायो ।
गाउँका एक दलितले ग्यास सिलिण्डर माग्दा नदिएको आरोप लगाए । त्यस वडाका दलितहरुले सिलिण्डर वितरणमा पक्षपात भएको आरोप लगाएका छन् । सोही विषयमा गाउँलेहरुबीच भनाभनपछि ढुंगामुडा भएको थियो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाका अनुसार पालिकाको योजनाअनुरुप गरिब तथा विपन्न वर्गलाई सिलिन्डर वितरण गर्ने योजना रहेकोमा एउटा टोलमा बुधबार र अर्कोमा बिहीबार बितरण गर्ने गरी मिलाइएको थियो । तर, सूचना अभावका कारण बिहीबार वितरण गर्ने भनिएको टोलका मानिसहरु आएको र उनीहरुले नपाउने भ्रममा परे पछि बिबाद निकालेपछि झडप भएको हो ।
निस्शुल्क ग्यास पाउने भएपछि दुईवटा वडाका मानिसहरु भेला भएका थिए । झडपको खबर पाउनासाथ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटास्थलमा पुगेको थियो । अहिले स्थिति सामान्य रहेको र थप झडप हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपि रविराज खड्काले बताए । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ । केहीलाई थप उपचारका लागी बाहिर पठाइएको प्रहरीले जनाएको छ । ईकान्तिपुरबाट साभार ।
