१५ साउन, काठमाडौँ ।
राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका ३ जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन नेपाल सरकारले गर्ने गरी सहमति जुटेको हो ।
उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुने भएको छ । त्यस्तै हाललाई प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नै राख्ने समेत निर्णय भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख राख्न माग गरेका थिए ।
प्रधानमन्त्री ओलीले राजधानीको सुरक्षा व्यवस्थापन केन्द्रमातहत नै राखिने र कानुनी अड्चन भए त्यसको समाधान गरिने बताएका थिए । यसअघि आइतबार र सोमबार दुईदिनसम्म गृहमन्त्रायमा बसेको बैठकमा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संविधानमा भएको व्यवस्थाअनुसार राजधानीको सुरक्षा व्यवस्थापन प्रदेश सरका मातहत राख्नुपर्ने अडान लिएका थिए । त्यसमा गृहमन्त्री थापाले असहमति जनाएपछि प्रधानमन्त्री ओलीसहितको बैठकमा यसबारे छलफल भएको थियो । संविधानमै उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर वाग्मती प्रदेशअन्तर्गत राखिएको छ । यही संवैधानिक व्यवस्थालाई टेकेर वाग्मती प्रदेश सरकारले राजधानीलाई आफू मातहत राख्न खोजेको थियो ।
नेपाल प्रहरी र प्रदेश प्रहरी समायोजन, समन्वय र कार्यसञ्चालनसम्बन्धी कामको समन्वय गर्न गृहमन्त्रीको अध्यक्षतामा गृहसचिव, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सदस्य रहेको प्रहरी समन्वय समिति छ ।
बैठकमा सहभागी एक अधिकारीले भने ‘गृहसचिव नेतृत्वको समायोजनसम्बन्धी समितिले यसबारे खाका टुंगो लगाएर नेपाल प्रहरी र प्रदेश प्रहरीसँग संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने छ ।’ राजधानीको सुरक्षा प्रदेश कि केन्द्र सरकार मातहत हुने भन्नेमा विवाद भएपछि समायोजन नै अवरुद्ध बनेको थियो । प्रहरी समायोजनाको विषय गृहले टुंगो लगाएसँगै अब समायोजन प्रक्रिया सुरु हुनेछ ।