१६ साउन, वीरगन्ज ।
जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । ५६ वर्षीय उनी भारतीय नागरिक हुन् ।
संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए । कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । डा. सिंहले भने, ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौँ, राति साढे ११ बजे उनको मृत्यु भयो ।’
बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ । यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।