योगेन्द्र योगी
२७ साउन, दोहा ।
साउदीमा ज्यान गुमाएका ९५ जना नेपाली कामदारका परिवारले पाउने ब्लड मनी बापतको रकम नेपाल पठाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदी अरबमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरूको कम्पनीबाट पाउनु पर्ने रकम नेपाली दूतावासको पहलमा सम्बन्धित कम्पनी बाट उठाएर नेपाल पठाएको छ ।
दूतावासका अनुसार ९५ जना मृतकले पाउने रकम १४,५४,६८९/६१ साउदी रियाल अर्थात करिब ४ करोड ६३ लाख ३२ हजार नेपाली रुपैयाँ नेपालस्थित कन्सुलर सेवा विभागको बैंक खातामा ट्रान्सफर गरिएको जनाएको छ ।
मृतक नेपालीहरुले पाउनुपर्ने बाँकी तलब, सर्भिस बेनिफिट, ब्लड मनी बापत रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीहरुले दूतावासको खातामा जम्मा गराएका थिए ।
यस्तै दूतावासले अन्य मुद्दा पनि अदालतमा चलिरहेको जनाएको छ । अन्य विभिन्न दुर्घटनामा परी ज्यान गुमाएका नेपालीहरूको हकमा पनि दूतावासका प्रतिनिधिहरु बारम्बार अदालतमा गएर उनीहरुको अधिकारको निम्ति बहस पैरबी गरिरहेको जनाएको छ ।
तर कोरोनका कारण यहाँका अधिकांश अदालत तथा सरकारी निकायहरू अझै पनि पूर्णतः खुल्न नसकेको जनाउँदै दूतावासले यहाँको स्थिति सामान्य हुने बित्तिकै निरन्तर फलोअप गरेर उनीहरुको मुद्दा पनि चाँडै टुंग्याउन पहल गर्ने जनाएको छ ।



