१ भाद्र, कालिकोट।
कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट उच्छवको दुदुली खोलाले बगाउँदा एकैपरिवारका चारजनाको मृत्यु भएको छ ।
शनिबार बेलुका खोला तर्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ ताम्कोटकी ३३ वर्षीया देवा बोहरा, उनका छोराछोरी १४ वर्षीया विपना, सात वर्षीय हेमन्त र एक वर्षीया आकृतिको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए ।
उनी कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट माइतीघर आएकी थिइन् । त्यहाँबाट फर्किने क्रममा खोलामा बगेको प्रवक्ता बाँस्तोलाले बताए । अहिलेसम्म कालिकोटमा बाढीपहिरोबाट ३६ जनाको मृत्यु भएको भने १८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार नरहरिनाथ गाउँपालिकामा १६, महाबैमा आठ, रास्कोटमा सात, सान्नीत्रिवेणीमा दुई, पलाता, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । त्यस्तै, पहिरोले घर भत्किँदा हुम्लाको ताजकोट गाउँपालिकामा तीन सय परिवार विस्थापित भएका छन् ।
लगातारको वर्षाले ताजाँकोट गाउँपालिका वडा नं. २, ३ र ४ का बासिन्दा विस्थापित भएका हुन् । बाढी र पहिरोले केही घर बगाएको र केही उच्च जोखिममा परेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले बताइन् । ‘घर भत्किएका र उच्च जोखिममा रहेका गरी तीन सय परिवार विस्थापित भएका छन्,’ उपाध्यक्ष बुढाले भनिन् ।
उनका अनुसार छप्रेला बजारका घर, होटेल र पसल उच्च जोखिममा परेका छन् । त्यस्तै, गाउँपालिका कार्यालय पनि बाढीमा परेको उनले बताइन् । बाढीले अध्यक्ष, उपाध्यक्ष र प्राविधिकको कार्यकक्ष बाढीले भत्किएको छ । त्यस्तै, बाढीले उतिसेनी, छप्रेला बजार, भदालदिपु, गल्लावाडा, खर्रा, देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलामगडालगायत गाउँका घर भत्किएको उपाध्यक्ष बुढाले बताइन् ।
ताजाँकोट गाउँपालिका– ४ को उतिसेनी, खरी, देउला गैरामा रहेको दलित बस्तीनजिकै पहिरो गएपछि उनीहरू घर छोडेर त्रिपालमा बसिरहेका छन् ।