४ भदौ, काठमाडौं ।
पाईलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने मकवानपुर नामटार–२ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई पक्राउ गरेको हो ।
सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक आईडी बनाएर महिलाहरुलाई साथी बनाई नेपाल एयरलाइन्सको पाइलट हुँ भन्दै प्रलोभनमा पारी सुनका गहना लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । गहना लुटपाट गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले सुनुवारलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।
सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।