४ भदौ, काठमाडौं ।
नेपाल चिकित्सक संघले निजी तथा सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारी निर्णय सच्याउन माग गरेको छ । देशभरका स्वास्थ्य संस्था यो निर्णयका कारण संक्रमणको केन्द्र बन्न सक्ने भन्दै संघले सरकारलाई निर्णय सच्याउन आग्रह गरेको हो ।
प्रत्येक स्वास्थ्य संस्थाहरुमा कोभिड र ननकोभिडका बिरामीहरुको उपचार सँगै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भार समेत पर्न जाने चिकित्सक संघका महासचिव डा बद्री रिजालले बताएका छन् ।
नेपालमा अझै पनि संक्रमितको उपचारका लागि छुट्टै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालको रुपमा परिणत गरेर अलग्गै उपचार गर्न सकिए संक्रमण न्यून गर्न सकिने चिकित्सक संघले बताएको छ ।
हाल कोभिड भन्दा ननकोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएको देखिएकोले स्वास्थ्य संस्थामा उपचारमा संलग्न हुने सक्षम जनशक्तिकै अभाव भई भयावह स्थिति सिर्जना हुनसक्ने खतरा औंल्याएक छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजलाई १ तिहाई र अन्य अस्पतालले २० प्रतिशत बेड छुट्याउनुपर्र्ने निर्णय गरेको छ ।