४ भदौ, काठमाडौं ।
काठमाडौँको दक्षिणकाली नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई सात दिनभित्र स्वास्थ्य केन्द्रको आवास खाली गर्न निर्देशन दिएको छ । नगरपालिकाले चाल्नखेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु बस्दै आएको भवनमा आईसोलेसन बनाउनुपर्ने भएकाले सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
संक्रमितहरुको चौबिसै घण्टा निगरानी गर्नुपर्ने भएकाले स्वास्थ्य केन्द्रकी प्रमुख डा. सरिता विकलाई नगरपालिकाले क्वाटर उपलब्ध गराएपनि चार जना स्वास्थ्यकर्मीलाई भने क्वाटर खाली गर्न भनिएको छ ।
नगरपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको साउन ३२ गतेको बैठकले स्वास्थ्य केन्द्रको क्वाटरमा बस्दै आएका एकजना हेल्थ असिस्टेन्ट, दुई जना अनमी र एक जना सिनियर अहेवलाई क्वाटर खाली गर्न निर्देशन दिएको हो । नगरपालिकाले ७ दिनभित्र क्वाटर खाली गर्न भदौ २ गते पत्र लेखेको थियो ।
यसले आफूहरु समस्यामा परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अस्पतालकी डा. सरिता विकले संकटको घडीमा स्वास्थ्यकर्मीलाई क्वाटर छोड्न निर्देशन दिने कार्य व्यवहारिक नभएको बताउँदै यसले स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने काम गरेको बताईन् ।
नगरपालिकाको निर्देशन आएको दिनदेखि कोठा खोजेको तर नपाएको हेल्थ असिस्टेन्ट सुशिला काप्रीले बताइन् । नगरपालिकाका सूचना अधिकारी दिपककुमार केसीले मौखिक रुपमा भन्दा कोठा खाली नगरेपछि संकटको घडीमा क्वार्टर खाली गर्न निर्देशन दिनुपर्ने अवस्था आएको बताए ।
पछिल्लो एक हप्तामा नगरपालिकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना संक्रमितको स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत छन् । ६ जना होम आइसोलेसनमा छन् । एक जना ह्याम्स अस्पतालमा उपचाररत छन् ।