५ भदौ, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीइ बाहेक पीसीआर परीक्षणमा मात्रै उक्त रकम खर्च भएको बताए ।
एउटा पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको उनले बताए । ३ अर्बभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजार बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उनले एउटा पोजेटिभ केस भेटाउन १ लाख ४ हजार ६ सय ३० खर्च सरकारले गरिरहेको बताए ।
एकजना संक्रमितलाई १ महिना आइसियुमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा. गौतमले बताए । निषेधाज्ञा जारी भएका क्षेत्र र अन्य क्षेत्रमा अनावश्यक घर बाहिर ननिस्किन पनि उनले आग्रह गरेका छन् ।