योगेन्द्र योगी
७ भदौ, दोहा ।
कोरोना महामारीका कारण कुवेत सरकारले विभिन्न चरणमा लगाएको कर्फ्यू हटाउने भएको छ । पाँच महिना पछि आगामी अगष्ट ३० तारिख बिहान ३ बजेबाट कर्फ्यू हटाउने जनाएको छ ।
कुवेतले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई तत्कालका लागि कुवेत प्रवेशमा लगाएको प्रतिबन्ध भने कायमै राखेको छ। तर, उक्त देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेमा कुवेत प्रवेशमा अनुमति दिने जनाएको छ ।
सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ । यसै बीच कुवेतको स्वास्थ्य निकायले उक्त ३१ देशहरुमा कोरोना नियन्त्रणको स्थितिलाई हेरेर हरेक १०/१० दिनमा लगाइएको प्रतिबन्ध माथी हेरफेर गर्न सक्ने जनाईएको छ ।
कुवेतलाई कोरोना महामारीबाट सामान्य जनजीवन बनाउने पाँचौ चरणको योजना अनुसार प्रतिबन्ध हटाउन लगाएको हो । तर, ठूलो जमघटका साथ बिबाह गर्न, होटलमा ब्यान्केट सेवा प्रदान गर्न र ठूलो जमघटका साथ अन्त्येष्टि समारोह गर्न अझै बन्देज गरिने भएको छ ।
कुवेतमा विभिन्न कारणले रोजगारी गुमाएका तथा कार्यअवधि पुरा गरेका कामदार स्वदेश फर्कन पाएका छैनन् भने विदामा गएका नेपाली श्रमिकहरु कुवेत फर्कन पाएका छैनन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।