७ भदौ, नवलपरासी । पश्चिम नवलपरासी जिल्ला पृथ्वीचन्द्र अस्पतालका चार जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा २९ जनामा पोजेटिभ देखिएको हो ।
जिल्ला पृथ्वीचन्द्र अस्पतालका अनुसार ३ जना चिकित्सक र एक जना नर्समा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर आवश्यक निर्णय लिने जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार जोखिमयुक्त क्षेत्रमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई होम आइसोलेसनमा राख्ने वा स्थानीय तहले तयार गरेको आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।
पाल्हिनन्दन गाउँपालिकाका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका प्रमुख र कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय पनि सिल गर्ने तयारी गरिएको छ ।